Mar 7, 2011

के सबै युद्ध नारीका लागी हुन्छन?

अहिलेको युवा पुस्तामा नारीका स्थान अवसरहरुमा धेरै प्रगति भएतापनि दैनिक जीवनमा तथा बोलिचालिमा अझै पनि धेरै भेदभाव बाँकी , जसले नारीको भावनामा आँच पुर्याउँदछन। ती मध्ये एउटा हो: सबै युद्ध नारीका कारणले हुन्छन भनि जबर्जस्ती ठोकुवा गर्नु। हुन भन्ने मान्छेका लागि सामान्य कुरा हो, तर अतीत देखि वर्तमान सम्मका सबै विध्वंशको दोष नारी जातीलाई लगाएपछि धेरै महिलालाई तनाव हुने गर्दछ। रामयणकी सिता र महाभारतकी द्रौपदि देखि लिएर इलियाडकि हेलेन सम्म को उदाहरण दिने गरिन्छ। यी कहानीले यो अभिव्यक्तिलाई कतिको समर्थन गर्दछन त? के साँच्चै सबै युद्ध महिलाका लागि हुन्छन् त? आउनुहोस हेरौं हामीले जानिरखेका युद्धका केहि किस्साहरु।

सबैभन्दा नजिकको युद्ध देखि नै शुरु गरौं: नेपालको १५ वर्ष भन्दा लामो माओवादी जनयुद्ध। यस युद्धका केहि अग्रगामी नारी पत्रहरु हुनुहुन्छ: हिसिला यमी, पम्फा भुसाल, अरु पनि कतिपय। सबै नामहरु प्रतिभाशाली नेत्रिका हुन्, तर यी मध्ये कोहि पनि युद्धको एकमात्र कारक हुन भन्नु सर्वथा हास्यास्पद छ। जनयुद्धका कारणक बारेमा सबैका आ-आफ्ना धारणा छन्, तर माथिका नारी पात्रमा आएर भने कुनै पनि टुङिदैनन। जनयुद्धमा त धेरै नारीहरु नै प्रत्यक्ष होमिनुभएको छ, के वहाँहरु अर्को कुनै नारिको लागि होमिनुभयो?

नेपालको इतिहास हेर्दा पनि कुनै युद्ध नारीका लागि भएका भेटिंदैनन्। नेपालमा प्रसिद्ध केहि युद्धहरु: प्रिथ्वीनारयण शाहका विस्तार युद्ध, अमर सिघंको वीरताको कहानी, अरु सबै युद्ध कुनैमा पनि नारी पात्र छैनन्। कुराकानिमा यस्ता सामान्य युद्धको उदाहरण कहिले दिईदैन। "नजिकको तिर्थ हेला" भनेझैं आँखा अगाडिको जनयुद्ध नेपाली इतिहास छोडेर पश्चिमी युद्धहरुको उदाहरण दिने गरिन्छ। खास गरी हिटलर र नेपोलियनको नाम धेरै लिइन्छ। यी दुबै नेताका सयौं, त नभनौ, दर्जनौ प्रेमिका मध्ये कुन चाहिंले युद्धको प्रेरणा दिइन, र त्यो कथन काहाँ प्रमाणित छ त? भन्ने प्रश्नहरुको जवाफ भने कसैले दिन सक्दैनन्। इतिहासका अनुसार प्रेमिकाको भूमिका खासमा यति गौण छ कि उनीहरु नभएको भए पनि युद्धहरुमा शायदै केहि फरक पर्थ्यो, र युरोपको इतिहासको थोरै पनि ज्ञान भएका व्यक्तिलाई यो कुरा बुझाइराख्नु पर्दैन।

फेरि पनि, नजिकैका इराक युद्ध, अफघानिस्तान युद्ध, भियतनाम युद्ध, आदिलाई छोडेर उहिले कहिलेका बिर्सिसकेका किस्साहरुको उदाहरण दिने प्रचलन हामीबीचमा छ। इराक युद्ध, अफघानिस्तान युद्ध, अरु कतिपय युद्धहरु हाम्रो आँखा अगाडि नै हुदैछन्, त्यसैले यी युद्धका राजनीतिक कारणलाई नकार्न सकिन्न। तर जब युद्धको राजनीतिले समाजमा असर पर्न छोड्छ, तब युद्ध (अथवा जुनै पनि घटना)का बारेमा असम्भव कहानी बनाई "मिथोलोजाइज" गर्ने चलन छ। यस्ता मिथोलोजीहरु जतिसुकै रमाइला भएतापनि इनिहरुले सामान्य जीवन, सत्य, अथवा भावनामा असर पुर्याउन थाले भने हामीले कदम चाल्नु जरूरि छ। यसरी नै कहानी बन्दै जाने हो भने सय बर्ष पछि राजदरबार हत्याकाण्ड देखि लिएर माओवादि जनयुद्ध सम्मकि कारण युवराज दिपेन्द्रकी कथित प्रेमिका देवयानी नै थिइन भन्ने इतिहास पक्कै बन्छ। यो विवरण हाम्रो पुस्ताकालागि हाँसउठ्दो , तर भावी पुस्तामा यहि विवरणले आधिकारिकता पाउने धेरै सम्भावना छ। त्यस्तै, समकालीन राजनीतिक परिस्थितिका आधारमा हिटलर र नेपोलियनका बेतुकि किस्सा नियालेर हेर्ने हो तत्कालीन युद्धमा नारीको केन्द्रिय भूमिका छ भन्नु त्यति नै हाँसउठ्दो छ ।

हिन्दी चलचित्र सकेसम्म धेरै मानिसले हेरुन भन्ने हिसाबले अप्रसंग आइटम डान्स हुने जस्तै गरि युद्धका कहानीहरुमा आकर्षण बढाउन विध्वंशकारी सौन्दर्यको किस्सा धकेल्ने गरिन्छ। महाकाव्य जो कोहिले सुनुन भनेर दुइ लिङ्ग बिचको छेडखानी विनाशकारी नारीलाइ धेरै प्रचार गरिन्छ। नतीजा के हुन्छ भने "तीस मार खाँ" फ्लप भएर "शीलाकी जवानी" मात्रै चर्चित भएजस्तै कहानि सबैले बिर्सेर मसला मात्रै याद आउँछ।

जस्तै, युद्ध गराउने नारी भनेर इलियाडकी नायिका हेलेन निकै प्रसिद्ध छिन। तर उनको कहानीमा कतिको सत्यता छ त? प्रथमत, दस वर्ष लामो युद्ध एउटी नारीका लागी होइन, व्यापार र विस्तारका लागी भएको थियो भनेर इतिहासविदहरुले प्रमाणित गरिसकेका छन्। हेलेनका पति मेनेलउस दस वर्षसम्म घर नफर्कि शत्रुको इलाकमा युद्धलाई नेत्रित्व गर्न सक्ने प्रभावशाली नेता थिएनन। हेलेनमा कुनै दिलचस्पी नभएका शक्तिशाली राजाहरु अकीलीज, अजाक्स, र अगामेम्नन लगायत अरुले नै युद्धको नेत्रित्व गरेका थिए, जसले राजनीतिक स्वार्थका लागि पटक पटक हार खाएर पनि दस बर्षसम्म युद्धबाट पछि हटेनन। त्यसमाथि पनि होमरको महाकाव्य बाहेक पनि हेलेनका कहानीका हजारौं संस्करण छन। यी अनेक संस्करण मध्ये कतिपयले हेलेनलाई भन्दा पनि यस्ता कुरालाई ध्यान दिन्छन, र कतिपयमा त कहानीको अन्त्य सम्म हेलेन भन्ने पात्र नै गायब भैसकेकी हुन्छिन।

होमरले हेलेनका बारेमा कविता लेख्दा नै हेलेनको मिथक धेरै पुरानो भैसकेको थियो र युद्धमा हेलेनको भूमिका धुमिल भैसकेको थियो। अर्थात हेलेनको धुमील छविमा होमरले आईटम डान्सको अवधारणा थोपर्ने प्रशस्त अवसर पाए, र त्यसका लागी "पोएटिक लाइसेन्स"को प्रयोग गर्न कुनै कसर बाँकी राखेनन। नारीलाई दोषी बनाएर उनले मसालेदार कहानी के लेखे, पुरुषप्रधान समाजहरुमा त्यही कहानीले आधिकारिकता पायो। त्यसमाथि सोह्रौं शताब्दिमा क्रिस्टोफर मार्लोले हेलेनलाई “हजारौं जहाज डुबाउने सुन्दरी को उपमा दिएपछि त झन के चाहिन्थ्यो र, हेलेन दुनियाभर त्यहि नामले चिनिन थालिन! आज त हामीलाई यी हल्का मसालेदार कहानीले मात्रै पुग्दैनन्, हामी हलिवुडका चलचित्रहरुबाट मात्रै हेलेनलाई चिन्छौ। हलिवुडका चलचित्रमा मसला (अर्थात नारीको नग्नता) को प्राथमिकता कति हुन्छ, त्यो त हामी सबैले देखेकै कुरा हो!

सुन्दरताले नै युद्ध गराउने भनेर अर्की नारी क्लीयोपाट्रालाई पनि चिनिन्छ। क्लीयोपाट्रा आफैं महत्वाकांक्षी थिइन, र युद्धहरु उनका लागि लडिएनन्, बरु उनले आफ्नै निर्देशनमा युद्ध गरिन। विस्तारको इच्छा राख्ने समकालिन पुरुष जुलियस सिजर वा मार्क एन्टोनी भन्दा उनी कुनै हिसाबमा भिन्न छैनन्। सहित्यमा बाहेक इतिहासमा काँहि कतै क्लियोपाट्रालाई "सुन्दरी" सम्म पनि भनेको पाईंदैन, सुन्दरताले युद्ध गराउनु त परै जाओस। इतिहासमा उनी बौद्धिक, बहुभाषी (९ वटा भाषा जान्ने), महत्वाकांक्षी र सक्षम शासकका रूपमा मात्र चिनिन्छिन। तर फेरि पनि, यो इतिहासलाई छोडेर शेक्स्पेयरले सोर्हौं शताब्दिमा लेखेको मसालेदार कविताबाट हामी धेरै प्रभावित छौं। निश्कर्षमा भन्नुपर्दा पाश्चात्य जगतमा गण्यमान्य लेखकले नारीलाई दोषारोपण गरेर मसालेदार संस्करणहरु लेखेका भएर तिनै संस्करण धेरै लोकप्रिय छन। अन्य संस्करणहरु पनि छन्, र सबै संस्करणका बीचमा कुन चाहीं यथार्थ भन्ने विवाद जारी नै छ। विवाद पाश्चात्य नारिले कुनैदिन सुल्झाउलान, हामी लागौं नेपालका मिथकतिर।

युद्धका कारकको रूपम सिता र द्रौपदिको नाम धेरै उछालिन्छ। सीताको बारेमा त राम आफैंले भन्छन: "मैले युद्ध तिम्रो लागि लडेको होइन, अफ्नो स्वाभिमानका लगि लडें, यति नगरे सबैले मलाई नामर्द भन्थे।"

त्यस्तै, भनिन्छ द्रौपदिले “अन्धाको छोरा अन्धा भनेर युद्ध को बिउ रोपिन। वेदव्यासको महाभारतमा भने यो किस्सा पाइँदैन। दुर्योधन पानिमा खसेर भिज्दा पहिला भीम हाँस्छन, र त्यसपछि उनका सबै भाइहरु हाँस्छन्, द्रौपदिको नामोनिशान कहीं छैन। “अन्धाको छोरा वाला वाक्य पनि वेद व्यासको रचनामा भेटिंदैन, दुर्योधन लज्जित भएको देखेर चार पाण्डवले हँसि उडाएपछि नै किस्सा सक्किन्छ। बिनाकारण नारीलाई दोष लगाउने रामानन्द सागरको हिन्दि टेलिश्रिंखलाबाट धर्म र लिंगको ज्ञान लिन छोडौं, र सत्यतर्फ लागौं। सत्य के हो भने सिता वा द्रौपदि नभएको खण्डमा पनि युद्ध हुनु अवश्यम्भावी थियो। दुबै कहानीमा राज्य र यशका लागी महत्वाकांक्षा, रीस, राग, द्वेश, मुठभेड र अभिमानको मात्रा भरिएर पोखिएको छ। दुबैमा नारी बदलाको हतियार मात्र हुन।

रावणले बहिनिको अपमानको सट्टामा रामलाई आक्रमण गरि बदला लिन सक्थे, तर त्यसो गर्दा उनिहरुको ज्यान जोखिममा पर्थ्यो, तर असुरक्षित एक्ली नारीलाई अपहरण गर्नु सजिलो थियो, र उनले त्यहि गरे। राज्यको लोभमा दुर्योधनले पाण्डवलाई हत्या (भीमलाई डुबाउने), आक्रमण (लाक्षाग्रिह), हेपाई (खाण्डवप्रस्थको बञ्जर जमीनमा निष्काशन) केहि गर्न बाँकि राखेनन। सबै असफल भएपछि उनले आफुले जित्नसक्ने एउटै मात्र ठाउँमा प्रहार गरे : शारिरीक रुपमा कमजोर नारीलाई घिसारेर ल्याई अतिघ्रिणित अपमान गरे। युद्ध हुनलाई यो अपमान आवश्यक थिएन: पाण्डव र कौरवको बाल्यकाल देखिको वैरभाव, र पाण्डवको हत्या गर्ने दुर्योधनका पूर्वप्रयासहरु मात्रै हेर्ने हो भने पनि युद्ध अवश्यम्भावी थियो। यी कहानिमा नारी कारण होइनन्, अरु केही सीप नलागेपछि मुकाबला जित्ने सजिलो हतियार मात्र हुन।

सबै युद्ध नारीका लागी हुन्छन भन्ने तर्कको आधार झिनो छ, अलिकति भार पर्ने बित्तिकै पिटिक्कै भाँचिन्छ। वास्तविक / साहित्यिक सबै युद्धमध्ये ९०% मा युद्ध गर्ने/नगर्ने निर्णय सधैं पुरुषले नै लिएका छन। यस्ता निर्णय लिनसक्ने पदमा विरलै मात्रै नारिहरु पुगेका छन। युद्धम लड्ने सिपाहीमा पनि भारी बहुमत पुरुषको छ। तर पनि अचम्मको कुरा के छ भने युद्धले गराउने विध्वंशको श्रेय युद्धमा केहि कदमै नचाल्ने नारीलाई दिईन्छ तर युद्ध जितेको खण्डमा भने नारीलाई कहिल्यै श्रेय दिंईदैन। विजयको श्रेय सधैं पुरुषको पुरुषार्थलाइ जान्छ। यो एकतर्फि र असन्तुलित तर्क धेरै नारीहरुलाई पच्दैन। अफ्नो जातीले गरेको कार्यको उत्तर्दायीत्व सरक्क नारिपट्टि सारिदिनु गैरजिम्मेवार व्यवहार भएन र? युद्ध जसले गरेको हो, उसैले नै युद्धका राम्रा नराम्रा दुबै पक्षको जिम्मेदारी स्वीकार गर्ने हिम्मत पनि राख्नुपर्दछ।

सबै युद्धहरु स्वार्थका लागी लडिने पनि त होइनन। युद्धका कारणहरु धेरै छन्, र सबै ह्रिदयविदारक छन। कतिपय स्थितिमा मान्छेले आफ्नो खाना, पानी, अस्तित्व, जिउ-ज्यान र अस्मिता जस्ता आधारभूत कुराका लागि लड्नुपरेको छ। नेपालको इतिहासमै नालापानिको युद्धको उदाहरण छ, जसमा आत्मरक्षाका लागी नारीपुरुष सबैले शत्रुको तोपको गोली छेक्न आफ्नै जिउले किल्लाको पर्खाल टालेका थिए। त्यसको ठीक विपरित, इराक युद्धमा भने सानो समूहको स्वार्थको लागि हजारौंले अनाहकमा ज्यान गुमाउनु परेको छ। दुइमध्ये कुन युद्ध धेरै मर्माहक छ, त्यो त युद्धमा खटेका सिपाहीले मात्र निर्णय गर्न सक्लान, तर यस्ता विभत्स कारणहरुलाइ छोडेर अप्रासङ्गिक “आइटम् नम्बर् बराबरको कारणलाई प्राथमिकता दिनु त घामको उज्यालोलाई हत्केलाले छेक्न खोजे जस्तो भएन र ? यस्तो तर्कले गम्भीर मूल विषयलाई तुच्छ बनाएन र? सबै युद्धलाइ नारीमा लगेर टुङ्ग्याउनु त युद्धकै अपमान हो, युद्धका लागि ज्यान थाप्ने सिपाहिको भावनाहरुको नै अपमान हो।

सैद्धान्तिक विवादलाई टुङ्ग्याउने क्रममा प्रश्न उब्जिन्छ, के आजसम्म कुनै पनि युद्ध नारीका लागि लडिएनन? नारीको लागी त होइन, तर प्रेमको नाममा विध्वंश रचेका भनिएका दुइ व्यक्तिको नाम अगाडि आँउछ। इलियाडका महत्वपूर्ण पात्र अकिलीजले पुरुष प्रेमी पेट्रोकल्स मरेको झोंकमा शत्रु कमान्डर हेक्टरलाई मारेर युद्धलाई निर्णायक मोड दिए। भनिन्छ विश्वविजयी अलेक्जेन्डरले पुरुष प्रेमीको आकस्मिक म्रित्यु भएको झोंकमा सिंगै सहरलाई आगोमा जलाइदिए। प्रेमबाट उब्जेका यस्ता द्वन्दको गन्ति थोरै भएतापनि प्रेमको पात्र नारी वा पुरुष जो पनि हुन सक्छन। यस्ता द्वन्दमा हामीले मुल्यांकन गर्दा प्रेमको पात्रलाई होइन, व्यक्तिगत प्रयोजनका लागि शक्तिको दुरुपयोग गरी सामाजिक विध्वंश रच्ने योद्धालाई समिक्षा गर्नुपर्दछ।

दैनिक जीवनमा प्रेमका लागि धेरै संघर्ष हुन्छन्, त्यो साँचो हो। तर प्रथमत: यी संघर्षहरु युद्ध होइनन, र दोश्रो, सबैभन्दा घातक संघर्षहरु प्रेमको लागी होइन सम्पत्ति, जमीन, र अवसरका लागि हुन्छन। दैनिक जीवनमा त यो कुराले नारीलाइ अपमान मात्रै हुन्छ। सामान्य कुराकानी चर्काचर्किमा परिणत हुन्छ। भन्ने मान्छेलाइ केहि फरक नपर्ला, तर आफुले केहि नगरे पनि जबर्जस्ती दोष थोपरिंदा सामान्य महिलामा धेरै द्वेश उत्पन्न हुन्छ। यो कुराले तपाइंले चिनेका नारीलाई कति दिक्क लाग्छ भन्ने कुर बुझ्नु जरूरि छ, र झुट्टा तर्कमा आधारित यो अभिव्यक्तिलाई हामी सबैले राम राम भनेर सत्य तथ्यलाई प्राथमिकता दिने बेला भएको छ। कुराकानीलाई अगाडि बढाउन र नारी पुरुषले एकार्कालाई राम्रो संग बुझेर समादरको वातावरण स्रिजना गर्नका लागि भावनामा ठेस् पुग्न सक्ने यस्ता कुराहरुमा सुधार गर्नु जरूरि छ।

Reactions:

10 comments:

suryama said...

Ppl who say women are the cause of wars are idiots :)

Yug zee Tah said...

I love this article. Your headstrong logic is coming to great use :p
And I HATE men.

arjun said...

* women aren't the cause of all wars, but obviously some. and then sometimes its children, and like you said many other reasons.
* birds fly. ostrich is a bird.
* i love and admire women.
* i hate men, too.
* i don't oppose nudity in hollywood as long as its necessary.( there exists an imaginary line that divides obscenity and art )
* item numbers in bollywood is senseless.

sewa said...

hahaha, as usual, i like arjun's insightful comments very much. Let me address them one by one.
1. Exactly my point, thanks for agreeing.
2. wow, great parallel, likes likes
3. me too
4. I dont, but that makes me wonder, u call urself arjun, but are u a woman?
5. i dont oppose all nudity, i only oppose it when it obscurees the real story and gains undeserved attention
6. Same goes for bollywood numbers, entertainings as long as they dont obscure important things
thanks a lot for your close attention.

Also, thanks my angels for comments :)

Anonymous said...

@suryama: Hmm then I am an idiot :)
:P
hehe

sewa said...

rajesswa, thanks for acknowledging that u r an idiot :P

Anonymous said...

@Sewa: bemna, how do you know that it is me :P :D hehe

sewa said...

maybe idiots leave traces? :P

Anonymous said...

@rich:Oh please "Yug zee Tah" don't hate men. They are always helpful and bring colorful. Yes some men , some women as well might be cruel. Some humans.. and so on..

Tk cr

sewa said...

who is this person, please disclose ur identity

There was an error in this gadget

Followers