Sep 8, 2012

Beautiful Dolpa


एकादेशमा एउटा दिगर्जी भन्ने गाउँ थियो. त्यो गाउँका मान्छेले एउटा गुम्बा बनाउने इच्छा गरे. उनीहरु दिनभरी गुम्बा बनाउँथे, तर राती सधैं राक्षसहरु आएर भत्काईदिन्थे. कति गर्दा पनि गुम्बा नबनेपछि उनीहरुले गुरु रिम्पोचेको सल्लाह लिए. गुरुले उनीहरुलाई भन्नुभो: यहाँ देखि धेरै पर एउटा एकान्त ठाउँ छ, जहाँ कोही राक्षस पुग्न सक्दैन,  त्यहाँ गएर गुम्बा बनाऊ. नभन्दै गुरुले भनेको ठाउँ राक्षस पनि पुग्न नसक्ने थियो: त्यहाँ पुग्न ५,००० मीटरको लेक चढ्न पर्थ्यो, र त्यहाबाट निस्किन दुइ चोटी ५,००० मीटर भन्दा माथी उक्लिनु पर्थ्यो. बस्ती पातलो थियो, पानी नपर्ने भएकाले उब्जनी थिएन, जाडोमा हिउँ पनि पर्ने भएकाले त्यहाँ कमै मान्छे बस्थे. गाउँलेहरुले गुरुको सल्लाह अनुसार त्यहिँ गुम्बा बनाए र देवताहरुलाई स्थापना गरे. सबैभन्दा महत्वपुर्ण देवताहरुलाई महंगा लुगा लगाई दिएको हुनाले यो गुम्बालाई सबैभन्दा महत्वपुर्ण गुम्बा ठानियो. गुम्बा को नाम 'शे' अर्थात ठुलो गुम्बा राखियो. यसरी गुम्बा बनाई गाउँलेहरु आफ्नो गाउँ फर्किए. तर अचम्म, उनीहरु गाउँ फर्किदा त उनीहरु भन्दा पहिले नै गुम्बाका देवताहरु उडेर त्यहाँ पुगिसकेका थिए. गाउँलेहरु फेरी देवताहरुलाई लिएर गुम्बामा फर्केर गए, र फलाम का सांग्लाले देवताहरुलाई बाँधेर फर्किए. र यसरी शे गुम्बा को स्थापना हुन गयो. 

डोल्पाको शे गुम्बा पुग्दा त्यहि पुरानो कथाको ठाउँ पुगे जस्तै लाग्छ : ,००० मीटरको बाटोशान्त वातावरण, कलकल बग्ने सफा खोला, सानो उपत्यकामा खोलाको पानीले माने घुमाईरहेका, अलिअलि घाँस मात्र भएको बन्जरमा भेडा चरिरहेका, र बीचमा सानो थुम्कामाथि एउटा सजिसजाउ गुम्बा. बुद्ध, तारा सरस्वतीका थान्काले भित्ताहरु मनमोहक देखिन्थे भने सुन चाँदीको जलप लगाएका मुर्तिहरु हेर्न लायक थिए.

शे गुम्बा पुगेपछि त्यहाँ अर्को समूहको गाइडले मलाई  शेको कथा सुनाउनुभयो. पछि फेरी गुम्बा का पुजारी संग पनि गफ्फियौं. कथामा भनेझैं बहुमुल्य मुर्तिहरु, जुम्ला को राजा को ठिटिंग (तरबार ) पनि वहाँले देखाउनुभो र दुखेसो पोख्नु भयो, "यता तिर मुर्ति चोरी हुने निकै डर हुन्छ, धेरै गुम्बा का मुर्ति चोरी भैसके, शे गुम्बा को अहिलेसम्म केहि चोरी भएको छैन, यहाँ धेरै कीमती सामान छन तर यहाँ निकुन्जको कोहि उल्डेन आउँदैन, कोहि रेन्जर आउँदैन, हाम्रो केटाकेटीले सरकारी कर्मचारी बाघजस्तो हुन्छ कि भालुजस्तो हुन्छ, चिनेको छैन..." 
वहाँको अभिव्यक्ति को नौलो तरिका मलाई निकै रमाइलो लाग्यो.
 
तानको सक्रियतामा नयाँ ट्रेकिंग रुट खोज्ने क्रममा जुम्ला र डोल्पा को यात्रामा धेरै सुन्दर ठाउँहरु देख्ने मौका पाइयो: शे फोक्सुन्दो को गहिरो नीलो रंग, त्यसमाथि परेको बादल को छायाँ, झार, पात,बुट्यान सम्म नहुने बन्जर पहाड, समुद्रको छाल जस्तो तरेली परेको देखिने राता पहाड, चट्टानै चट्टान को बीचमा फुल्ने फूल, दुइ दुइ घण्टा को अन्तराल मा भेटिने सुन्दर झरना, भुइँभरि फुलेका सप्तरंगी फूल, दुइ पहाड को बीचबाट कहिले साँघुरो, कहिले फराक हुँदै बग्ने, कैले अदृश्य भएर सुसाएको मात्र सुनिने खोला.... सबै दृश्यले मनमा गहिरो छाप पारे. यसका साथै मध्यपश्चिममा भेटिएका मानिसहरुको मिठो बोली,  नौलो जीवनशैली पनि उत्तिकै यादगार थिए.
 
कोहि उल्ड़ेन (वार्डेन) र रेन्जर नपुग्ने ठाउँ भएकाले होला, बाँकीको नेपाल बाट पुरै अलग्गिएका यी छेत्रमा पृथक संस्कृति पनि विकसित भएको रहेछ. 
चोत्रो भन्ने गाउँमा हरेक घरमा रंगीबिरंगी बुद्धिस्ट झन्डा फ़र्फ़राइरहेका थिए. 
 "यहाँ कुन जाती का मान्छे बस्छन ? के धर्म मान्छन? लेख्नुभो? " साथी दुर्गाले सोध्नुभो.
"अरु त था छैन, धर्म चाहिँ पक्कै बुद्धिस्ट हो, झन्डा हेरेरै था हुन्छ," मैले भनें. 
"अन्दाज गरेर हुदैन, सोध्नु पर्छ" 
हामी नजिकैकी महिलासंग गफ गर्न थाल्यौं. 
"तपाईंहरु के धर्म मान्नु हुन्छ ?" मैले सुरुमै सोधिहालें.
"हामी बुद्धिस्ट हो " महिला ले भनिन. 
त्यति भनिसकेपछि अरु केहि सोध्नु पर्ला जस्तो लागेन, र म ढुक्क परेर बसें. तर साथीले भने छोड्नु भएन. "तपाईंहरु के जाती नि?" वहांले थप्नुभो. 
"हामी छेत्री हो" उत्तर सुनेर म छक्क परेर ती महिलालाई हेरें. चिम्से आँखा, थेप्चो नाक, छेत्री भन्दा मंगोलियन बढी लाग्ने अनुहार. त्यसमाथि घांटीमा मुगा को माला. 
"अनि छेत्री पनि बुद्धिस्ट हुन्छन त?"
"हुन्छ, हामी त पहिला देखि बुद्ध धर्म मान्ने हो," हामी संग बोल्दा बोल्दै उनी आफ्ना छोरा छोरी संग बोल्न थालिन, हामीले नबुझ्ने भाषामा.
"के भाषा बोल्नुभाको ?" मैले सोधिहालें.
"टिबेटन हो" नजिकैका युवकले उत्तर दिए.
"अनि बिहामा, मर्दा पर्दा, लामा बोलाउने कि पन्डित?" साथीले फेरी कुरा पछ्याऊनुभो.
"लामा आउँछ."
"अनि सिन्दूर पोते लाउनु हुन्छ कि हुन्न?" मैले थपिहालें.
"लाउँछौं "
"अनि लामाले पनि सिन्दूर पोते लाइदिन्छ त ?" साथीले अचम्म मान्दै सोध्नुभो.
"लाउँदैन, पछी हामी आफै लगाउँछौं " उनले यसरी भनिन मानौ यसमा कुनै अचम्म छैन. 
"तपाईंहरु छेत्री भए पनि बुद्धिस्ट हुनुहुँदो रहेछ, हामी जस्ता हिन्दु छेत्री संग बिहा-बारी गर्नु हुन्छ कि हुन्न? "
"हुन्छ नि, किन नहुनु, हामी पनि भान्सामा बसेर खाने जात हो," उनले उत्तर दिईन.
 
बुद्ध र लामा मान्ने अनौठा छेत्रीसंग भेटेर हामी छक्क पर्यौं. हामीले पछि थाहा पायौं, चोत्रो त हिमाली छेत्र को सांस्कृतिक सम्मिश्रण को एउटा उदाहरण मात्र रहेछ. त्यसपछि धेरै ठाउंमा यस्ता सम्मिश्रणका अनेक रुप देखिए. झ्याकोट मा हरेक हिन्दु घरबाट बुद्धिस्ट झन्डा फर्फराईरहेका थिए (यस पाली चाहिँ सोधेर नै पक्का गर्यौं, प्राय घर हिन्दु धर्मावलम्बी कै थिए ). नौलीगोठको होटेलका शेर्पा साहुजी दौरा सुरुवालमा सजिएका थिए. "किन आफ्नो लुगा छोडेर यस्तो लाउनु भएको ? " हामीले सोध्यौं. "परिवेशमा मिल्न " उनले मुस्कुराउँदै भने.   
 
जुम्ला को बल्यांग्रा लेक कटिसकेपछी हामी एकछिन आराम गर्दै थियौं. त्यहाँ नजिकै तिन जना मानिसहरु भैंसी चराउँदै बसेका थिए. दुइजनाले बाहुन र एक जनाले पुन भनेर आफ्नो परिचय दिए. जिल्ला भन्दा बाहिर कहिले नगएका भन्ने उनीहरु पालैपालो एउटी चुरोट पास गर्दै खाँदै थिए. तपाईंहरु चुरोट बार्नु हुन्न रहेछ, भात पानी चाँही बार्नु हुन्छ कि हुन्न नि ?” मैले सोधें.

बारदैनौएकजनाले भन्नुभो. “कीरा खोज्न माथि माथि लेकमा जानु पर्छ, बारेर साध्य नै भएन ”.
गाउँमा कसैले पनि बार्नु हुन्न हो ?”
कोइ कोइ पुराना मान्छेले बार्छन, होइन भने धेरैले छोडीसक्यौं
ओहो, यस्तो विकट गाउँमा पनि यस्तो उदार सोच ! तपाईंहरुलाई कस्तो लाग्छ आफुले जात भात बार्न छोडेको कुरा ?”
हामीलाई यहि राम्रो लाग्छ हजुर, यहि ठिक  ”.
वहाँहरु केहि महिनाको लागि गोठ सारेर घर परिवार छोडेर आफुहरु मात्र लेकमा बस्नुभएको रहेछ
"तपाईंको गाउँबाट यहाँ आउन कति समय लाग्छ ?" मैले सोधें
एक्लै आउंदा आधा दिनमा पुगिन्छ, लछिमी सित आउंदा दुइ दिन लाग्यो" एकजनाले भने.
हजुर? अनि कोइ आइमाई मान्छे छैनन् भन्नुभाको होइन  ?”
छैनन्, छैनन्, लछिमी सित दुइ दिन भनेको”. 
मैले भने अझै कुरा बुझिन. निकै बेरहजुर ? हजुर ?” भनेर सोधेपछि बल्ल साथीले बुझाउनुभो : गाईसंग हिन्दा दुइ दिन लाग्ने रहेछ ….
 
ठाउँ अनुसार बेग्ला बेग्लै भाषा हुने भएकोले होला, यस्ता भाषिक कठिनाई निकै पल्ट दोहोरिए. तल र माथि लाई तली तली र हाब्री हाब्री, दायाँ र बायाँ लाई स्याला र पाडा, जस्ता स्थानीय शब्दहरु बुझ्न नै हामीलाई निकै समय लाग्यो. चार जना महिलाले म र महिला साथी शान्तालाइ बातै पिच्छे सर भनेकोले निकै अप्ठ्यारो लाग्यो. 
त्यस्तै जुम्लाको खलंगा बजारबाट उकालो लाग्दा पहिलो पटक घोडा र खच्चर का ताँती देखेर हामी दङ्ग परेर हेर्दै थियौं, क्याराभान फिल्मको कुनै दृश्य देखे जस्तै लागिरहेको थियो.. एउटा समूहसंग कुरा गरेर थाहा भयो, वहाँहरु ४ दिनको बाटो काटेर "जुम्ला" मा किनमेल गर्न आउनुभएको रहेछ. त्यसपछि को अर्को समूह घोडालाई चर्न छोडी दिएर सुस्ताईरहेका थिए. उनीहरु संग पनि गफ गरिहालौं भनेर मैले सोधें: "तपाईहरु कहिले कहिले जुम्ला आउनु हुन्छ?"
"अँ, कहिले कहिले आउँछौं" एक जनाले जवाफ दिए. 
हाम्रो हिड्ने बेला भैसकेको थियो, आफ्नो कुरा बुझाउन नसकेकोमा हाँस्दै हाँस्दै म बाटो लागें.
त्यस्तै एकदिन जाजरकोट बाट आएको एउटा समूह संग भेट भयो. सबैजनाले डोकोमा टन्न भारी बोकेका थिए
डोकोमा के  ?” मैले सोधें. “बिषादी हो ” एकजना भाइले भने.
कस्तो बिषादी ? बिष भनेको ?” यार्सागुम्बा जस्तो दुर्लभ जडिबुटी पाइने ठाउँमा बिष जस्तै कडा जडिबुटी  पनि  पाइन्छन होला, मैले अनुमान लगाएँ..
बिष होइन, बिषादी हो बिषादी, चाउ चाउ, बिस्कुट, यस्तै सामान हरु, बेच्न लगेको.” अरु निकै गफ गरे पनि बिषादी भन्ने शब्द को अर्थ मैले थाहा पाउन सकिन, घर आएर शब्दकोश पल्टाउंदा पनि त्यो कतै फेला परेन.
कति ठाउँ मा त भाषा को मात्रै होइन सूचना को पनि धेरै कन्फ्युजन भयो.
यता झिंगा को व्यापार हुन्छ ” हामी गफ गर्दै हिंड्दै थियौं.
कस्तो झिंगा को व्यापार ?”
मान्छे आउँछन, झिंगै झिंगा भएको केटा केटीको फोटो खिच्छन, 'हेर्नोस यहाँ को गरिबी', भनेर लगेर हजारौं मा बेच्छन, अनि भएन झिंगा को व्यापार ?”
यस्तै गफ गर्दै जाँदा निकै धेरै झिंगा भएको ठाउँ बास बस्न पुगिएछ. फेरी झिंगा को व्यापार को कुरा उठ्यो. “कस्तो झिंगा को व्यापार भन्नुभाको दाई ?” होटेलकी बहिनीले सोधिन. “मलाई भानिरख्नुस, अर्को वर्ष आउँदा दुइ क्विन्टल जम्मा गरेर राखिदिन्छु .
त्यस्तै गरि, अर्को दिन जुम्लाको धानको कुरा निस्क्यो. संसारमै सबै भन्दा उचाईमा धान खेती जुम्लामा हुने रहेछ, किनकि अरु ठाउँमा यति उचाईमा सिंचाईको अभाव हुन्छ. जुम्लामा भने हिमालबाट तिला जुवा नदी बग्दै आएर प्रशस्त पानी पाइने रहेछ. जुम्लाको कालो मार्सी भन्ने धान अन्त नफल्ने हुँदा यसको निकै माग हुने रहेछ.
था , जुम्लामा यति चिसो हुन्छ, धान उमार्ने बेला मा भुइँ चिसो भएर मान्छे हरु रातभरी खेतमै सुत्छन्, भुइँ तताउनलाई, नत्र बिउ नै उम्रिदैन !!!”
हुन मलाई धान खेती बारे खासै केही थाहा छैनतैपनि धान रोप्न यति गार्हो पर्ने सुनेर म अचम्म परें. स्थानीय मान्छेलाई सोधिहालौँ भनेर किचेन को भाई संग कुरा गर्न थालें.
धान रोप्ने बेला मा हिलो मा सुत्ने गरेको हो ?”
अँ... कहिले काहीं ” उसले अन्कनाउँदै भन्यो 
अनि तेसो गरेन भने धान उम्रिदैन हो ?”
अँ ….खोईई......
यत्तिकै मा साथी भागवत ले आएर सोध्नुभो : “अनि यो खेतमा सुत्ने चैं धान उमार्नलाई हो कि रमाइलोलाई हो ?”
रमाइलो गर्ने हो ” बल्ल भाइले हाँस्दै भने. पछी थाहा पायौं, धान रोप्ने बेलामा हिलोमा खेलेर रमाइलो गर्ने चलन रहेछ,  त्यसलाई चोपाया भनिदो रहेछ. धन्नप्राचीन कृषि प्रविधि ” को बारेमा गलत सूचना बोकेर आइन, खुसि लग्यो.
अन्त्यमा, डोल्पा पुगिसकेपछि डोल्पाका प्रख्यात व्यक्तित्व थिन्ले लाई कसरी बिर्सिने ? थिन्लेलाई भेटेर हामी पालैपालो फोटो खिच्दै थियौं. फोटोग्राफर दाई छेउमा पुगेपछि थिन्लेले भनेअब मोटे संग पनि खिचौं ”
मोटे ” दाईलाई हामीले जिस्काउँदै थियौं, तर थिन्लेले भने नहाँसी आफ्नो कुरा भने : “ अहिले दुब्लो छु नानी, बिरामी भएर दुब्लाएँ. तर पनि मोटाउने हो अब मोटे जस्तै हुने हो.” ७१ वर्ष का वृद्धको आशावादी कुराले त हाम्रो थकान नै मेटिए झैँ भयो.

All pictures by Prakash Khadka

Reactions:

10 comments:

karkib said...

You already are a great story teller. Thanks.
@Bcarkey

Sabina Rajak said...

Loved reading through you narration... was so nice to read the article Sewa :)

mahesh said...

I am also a Buddhist (on belief) Chhetri lol... Nice work. Wud lov to read more.

Govinda Raj Bhattarai said...

I was moved by your power of and control over language chhoree

Avinashi Paudel said...

fairly observed and nicely written Sewa.Your piece reminded me how much have I been missing traveling.....!

curly locks said...

thanks everyone for u encouraging comments. and avinashi, i m sure ur travelling days will b back soon :)

bhuwan pokharel said...

एकदम सरल, सरस अनि शालिन शब्द/ चित्र ! नेपालीमा तिम्रो लगाम उत्तिकै कसिलो छ ! मजा आयो पढेर !

Pagal Basti said...

मन परेको मध्ये एउटा

curly locks said...

thank u bhu wan and pagal basti :)

prakash said...

My world and your world is totally different, I was always worried to capture the artistic pictures, again our team was really worried about your health, now this story strikes my brain you have also been in deep thinking!!! Thanks for great job!!

Prakash

There was an error in this gadget

Followers