Oct 20, 2012

funny alterations we make


वर्षेनी हजारौं अंग्रेजी शब्द नेपाली भाषामा भित्रिने क्रममा केहि शब्द को हिज्जे फेरिनु त स्वाभाविक नै हो। “फिल्म“ लाई “फिलिम“ र “ग्लास “ लाई “गिलास“ त अब सामान्य भैसक्यो, तर कतिपय ठाउँ मा अर्थ नै फेरिने गरि हिज्जे बिग्रिंदा भने अप्ठ्यारो हुने रहेछ। लुगा सिलाई हुने धेरै पसलमा “शटिंर्ग“ का साथसाथै “सुटिंर्ग“ पनि सिलाईन्छ रे, यो “सूर्ट“ लगाउने मान्छे भने मैले आज सम्म भेटेकी छैन, तर हेर्ने ठुलो इच्छा छ । अझ कति लुगा पसलमा त “स्टाइलिश“ होइन “स्टाइलिस्ट“ लुगा पाइन्छन रे, यस्ता लुगा चाहिं “स्टाइलिस्ट“ आफैंले बसेर बेच्ने हुन कि, थाहा पाउन सकिएन। एक ठाउँ मा त जिन्स लाई “जी“ अक्षर राखेर लेखेको पनि देखियो, र “जिन्स“ होइन “गिन्स“ बेच्ने त्यो पसल लाई मेरो शुभकामना छ†

कति इलेक्ट्रोनिक्स पसलमा “वेब क्याम“ मात्रै होइन “ह्वेब क्याम्प“ पनि पाइन्छ रे, त्यस पछी मलाई पनि “ह्वेब“ मा गएर “क्याम्प“ गर्ने खुब रहर लागेको छ। नेपालीमा त “लौंच“ लाई “लन्च“ लेख्दा केहि फरक पर्दैन तर कतिपय ठाउँ मा अंग्रेजी मै “लौंच“ लाई “लन्च“ लेखिदिंदा भने गार्हो पर्छ। खाजा खाने कार्यक्रम होला भनेर पुग्दा त कुनै अल्छिलाग्दो बिमोचन मा फसिन्छ। त्यस्तैगरी, मनिषा कोइरालाले विज्ञापन गरेको “मेघा वुल“ नेपाल मा त्यतिबेला देखी नै पपुलर छ। तर त्यसो भन्दैमा “मेगा मोडेल“ लाई “मेघा मोडेल“ त लेख्नु पर्दैन थियो होला कि ? मेगा अर्थात बृहत, र मेघा अर्थात बादल अर्थ लाग्ने केटीको नाम। अब “मेगा ब्यांक“ लाई “मेघा ब्यांक“ भनिदिने हो भने को हुन् यी “मेघा“ जसको नाममा ब्यांक खोलियो ? भन्ने प्रश्न उब्ज्यो भने चाही अप्ठ्यारो पर्ला .....

कतिपय शब्द का नेपाली अवतार यति प्रचलित भईसके कि अब आएर तिनको खास उच्चारण प्रयोग गर्दा अनौठो लाग्ने रहेछ। दशैं नजिकै आउँदैछ , तास पक्कै खेल्नुपर्छ, तर झुक्किएर पनि फराँस लाई फ्लश भन्नु हुदैन है। हुन त सो खेल का तिनवटै पत्ती एकै रंग का भए भने “फ्लश“ भएको मानिन्छ, र त्यहि कम्बिनेसनका आधारमा यो खेल को नाम पनि फ्लश राखिएको होला। तर “फ्लश“ भनेर साथीहरुको हाँसो को पात्रो बन्नु भन्दा “फलाश“, “फ्ल्याश“ अथवा “फराँस“ नै भन्नु ठिक छ। “फ्लट“ गर्ने मान्छेलाई “फल्ट“ गर्ने भनेको धेरै चोटी सुनेकी थिएँ, तर “फ्लर्ट“ गर्ने मान्छेलाई प्राय: जसो “फल्ट“ पनि गर्ने हुनाले कुरा बुझ्न गाह्रो हुदैन थियो। तर कहिलेकाहीं दोष नै नभएको मान्छेलाई “फल्ट“ गरेको भनेको सुन्दा चाहिं नरमाइलो लाग्छ।

धेरै पश्चिमी संस्कृतिमा पुरुषले पनि लगाउने गरेको र अमेरिकी चलचित्रहरुमा काउबोईले लगाएर प्रख्यात बनाएको परिधान “पोंचो“ नेपालमा भने महिलाहरमाझ लोकप्िरय छ। म पनि एउटा किनौं भनेर पसल गएँ, अनि बल्ल पो थाहा पाएँ , बाहुला नहुने, काँध बाट झुन्डिने लुगालाई त “पन्जु “ पो भन्नुपर्ने रहेछ। परिधान कै कुरा गर्नु पर्दा, लुगा माथी डोरी अथवा “कोर्ड“ को डिजाइन हुने हुनाले “कोर्डूरोइज“ नाम रहन गएको एउटा कपडा लाई जब “कट्राईज“ को नाम ले चिनिन्छ, त्यो कुनै अर्कै चीज हो कि जस्तो लाग्छ।

उच्चारण कै कुरा गर्नु पर्दा, केहि अंग्रेजी शब्द को नेपाली उच्चारण अचम्मको हुने गर्दछ। अंग्रेजी मा “एस“ को अगाडी “के“ छ भने हामी त्यसलाई अगाडी पछाडी पारिदिन्छौं . जस्तै, हामी “आस्क“ लाई “आक्स्“ भन्छौं, र “रिस्क“ लाई “रिक्स“। यो चलनको हिसाबले त “स्कुल“ लाई “इस्कुल“ होइन “इक्सुल“ भनिनु पर्ने हो, तर विद्यालय चाहिं कसो कसो बचेछ। त्यस्तै , “एक्सपेक्ट“ र “एस्पेक्ट“ जस्ता उच्चारण गर्न कठिन शब्दहरुलाई हामी सजिलै “एक्सेप्ट“ भनिदिन्छौं, “र एक्सेप्ट“ लाई त झनै सजिलो “एसेप्ट“ भनिदिन्छौं। तर त्यसो भन्दैमा अर्थ नै बिगारिदिने नेपांग्रेजी का शब्दलाई भने त्यति सजिलै एसेप्ट गर्न हुदैन है†

Reactions:

4 comments:

mira said...

mira said...

Nice one.. अनी अङ्रेजिमा आफुलाई दखल प्राप्त ठान्नेहरुले भन्छन, म यस्मा "कन्फिडेन्स" छु, ति ब्यक्तिको ओभर कन्फिडेन्स पनि त हेर्न लायक नै हून्छ ।

turbobrain said...

Sukshma nirikshyan. Keep it up.

Dinesh Poudel (Itahari) said...

सुपरटेनले परीक्षा चलाउँछन / किरासन भन्या मट्टीतेल हो/ mud guard लाइ मोटर कर , Free wheel लाइ फिर्बल यस्तै हो हाम्रो भाषाको नविन रुप/ चिन्ता गर्नु हुन्न/

There was an error in this gadget

Followers